काठमाडौं– यू १९ एसिया कप खेल्नका लागि यूएई प्रस्थान गर्दा नेपालका कप्तान देव खनाल र प्रशिक्षक जगत टमाटाले टेष्ट मान्यता प्राप्त देशहरुसँग खेल्नुपर्ने भएकाले दबाबमा रहेको तर नजिता प्रशंसायोग्य हुने दाबी गरेका थिए।
तर, उनीहरुले दाबी गरेजस्तो नेपालको खेल हुन सकेन। अन्तिम खेल भारतसँग मंगलबार खेल्दै नेपाल समूहचरणबाट बाहिरिएको छ। नेपालले भारतसँग १० विकेटले पराजित भयो। डिसेम्बर ८ मा पाकिस्तानसँग खेल्दै नेपालले एसिया कपको सुरुवात गरेको थियो।
नेपालले टस हारेर पहिले ब्याटिङ गरेको उक्त खेलमा १५२ रनमात्र बनायो। उक्त खेलमा उत्तम मगरले अर्धशतक बनाए भने अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। त्यस्तै दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग खेल्यो। नेपालले पहिले बलिङ गर्ने अवसर पायो। उक्त खेलमा नेपालले राम्रो सुरुवात गरेको थियो। तर सुरुवात कायम गर्न सकेन। जसका कारण २६२ रनको लक्ष्य पायो।
जवाफी ब्याटिङमा उत्रेको नेपालले पूरा ५० ओभर खेल्न पनि सकेन जसका कारण ४० ओभरमा अल आउट हुँदै १८८ रन मात्र बनायो। जसमा अर्जुन कुमालले ९१ रन बनाए भने अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहेन। कुमालले एउटा इनिङबाट नेपाललाई अघि बढाउँदै लगे भने अर्कोबाट लगातार विकेट गुमाइरहँदा पूरा ओभर पनि खेल्न सकेन।
इनिङ उकास्न कुनै पनि ब्याटरको सहायत नपाएपछि जित्ने सम्भावना भएको उक्त खेल नेपालले अफगानिस्तानलाई सुम्पेको थियो। उक्त खेलमा निकै आश गरिएका कप्तान देव खनाल र सिनियर टोलीबाट खेलेका अलराउन्डर गुल्सन झाले भरपर्दो साथ अर्जुनलाई दिन सकेनन्। कप्तान खनालले ३७ बलमा २४ रन बनाएर आउट भए भने झाले २० बलमा १७ रन मात्र बनाए।
त्यस्तै तेस्रो खेल नेपाली टोलीले मंगलबार भारतसँग खेलेको थियो। जुन खेल नेपालका लागि जित्नैपर्ने बाध्यता थियो। तर उक्त खेलमा नेपाली टोलीले झन खस्केको प्रदर्शन गर्यो। नेपाली टोलीले आफू विश्वकप खेल्ने टिम हो भन्ने स्तरको प्रदर्शन नगरेको भनी आलोचनासमेत भइरहेको छ।
बलियो प्रतिस्पर्धी भारतसँग नेपाल निरिह भएको थियो। नेपालले पावर प्लेअघि नै अधिकांश विकेट गुमायो। नेपालले पूरा ओभर खेल्न नसक्नुका साथै सबैभन्दा कम स्कोरको खेल पनि खेल्यो। अन्तिम खेलमा नेपालले २२ ओभरमात्र खेल्न सक्यो। नेपाली कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। कप्तान खनालले १० बल खेलेर २ रन बनाए भने झाले ८ बल खेलेर ४ रन बनाए। उत्तम मगर र दीपक डुम्रे डक आउट भए भने नेपालले १३ रन एक्ट्रा पाएको थियो।
आशा गरिएका कप्तान खनाल र अलराउन्डर झाको बिर्सनलायक प्रदर्शन
नेपाल एसिया कपलाई आगामी यू–१९ विश्वकपको तयारीको रुपमा पनि लिएर यूएई पुगेको थियो। तर नेपालले ब्याटिङमा अझै धेरै सुधार गर्नुपर्ने देखिएको छ। नेपालले एसिया कप खेल्नुअघि सिनियर टोलीको पनि अनुभव भएका खनाल र गुल्सनबाट धेरै आशा गरेको थियो तर उनीहरुको प्रदर्शन राम्रो नहुँदा नेपाली टोलीको ब्याटिङ र बलिङमाथि नै प्रश्न उठेको हो।
कप्तान देव खनाल
पाकिस्तानसँग १३ बल खेलेर शून्य रनमा आउट
अफगानिस्तानसँग ३७ बलमा २४ रन
भारतसँग १० बल खेलेर २ रन बनाए
गुल्सन झा
४ बल खेलेर १ रन बनाएर आउट
२ विकेट लिए
अफगानिस्तानसँग २० वलमा १७ रन
२ विकेट
भारतसँग ८ बल खेलेर ४ रन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।