काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)- २०२४ को अक्सनमा एक जना पनि नेपाली खेलाडी पर्न सकेनन्। बीसीसीआईले सोमबार अक्सनका लागि सार्वजनिक गरेको ३३३ खेलाडीको सूचीमा कुनै पनि नेपाली खेलाडीको नाम समावेश छैन।
पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय स्तरमा लगातार सफलता हात पारिरहेको हुँदा नेपालबाट केही खेलाडी अक्सनमा पर्ने आकलन गरिएको थियो। तर कुनै पनि खेलाडी समावेश भएनन्। नेपालले भारत र पाकिस्तान जस्ता टिमसँग एसिया कप, इमर्जिङ एसिया कप अनि एसियन गेम्समा भारतसँग खेलेकाले आईपीलको अक्सनमा पर्ने आशा गरिएको थियो।
आईपीएल- २०२४ मा एसोसिएट राष्ट्रबाट दुई खेलाडी मात्र अक्सनको सूचीमा छन्। जसमा नामिबियाका डेबिड वाइजा र नेदरल्याण्ड्सका पउल भान मिकेरेन सामेल छन्।
अक्सनमा ३३३ मध्ये २१४ भारतीय खेलाडी छन् भने ११९ विदेशी खेलाडी छन् । अक्सनबाट बढीमा ७७ खेलाडी मात्र लिलामी हुनेछन्। जसमा ३० विदेशी खेलाडीको कोटा रहेको छ। अक्सन डिसेम्बर १९ मा दुबईमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।