काठमाडौं– सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोले ४२ वर्षका १ जना पुरुषलाई पक्राउ गरेको हो।
सामाजिक सञ्जालमार्फत् चिनजान भइ विभिन्न समयमा २ जनाबीच भएको क्रियाकलापलाई तस्बिर तथा श्रव्यदृश्य सम्पादन गरी महिलाको चरित्र हत्या गरेको आरोपा चितवनको रत्ननगर नगरपालिका–१० घर भइ हाल काठमाडौं बस्ने ४२ वर्षीय चतुर्मान महतोलाई ब्यूरोले पक्राउ गरेको हो।
साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पशुपतिकुमार रायले महिलाको तस्बिरलाई सम्पादन गरी महिलाको चरित्रहत्या गरेको अभियोगमा महतोलाई पक्राउ गरिएको जानकारी दिए।
महतोलाई विद्युतीय कारोबार ऐन, २०६३ अपराधअन्तर्गत पक्राउ गरी काठमाडौं जिल्ला अदालतको आदेशले ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता रायले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।