काठमाडौं– चिकित्सा शिक्षा अयोगको निर्देशक छनोट विवादमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।
बिहीबार उच्च अदालत पाटनका न्यायाधिसद्वय रमेश ढकाल र प्रकाश खरेलको संयुक्त इजलासले चिकित्सा शिक्षा आयोगका नाममा अन्तरिम आदेश जारी गरेको हो। आदेशसँगै आयोगको निर्देशक सिफारिस प्रक्रिया स्थगन हुने भएको छ।
निर्देशक छनोट समितिले आवेदन आह्वान गरेर १२ जनालाई सर्टलिस्ट गरिसकेको अवस्थामा छनोट प्रक्रियाप्रति असहमति जनाउँदै उच्च अदालतमा रिट परेको थियो।
रिटको प्रारम्भिक सुनुवाइ गर्दै अदालतले बिहीबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।
यसैबीच चिकित्सा शिक्षा आयोगको निर्देशक सिफारिस समितिको समय पनि सकिएको छ। ऐनको निर्देशक सिफारिससम्बन्धी दफाको उपदफा ७ मा ‘उपदफा (६) बमोजिमको समितिले आफ्नो काम प्रारम्भ गरेको मितिले पन्ध्र दिनभित्र निर्देशकको पदमा नियुक्तिको लागि उपाध्यक्ष समक्ष नाम सिफारिस गर्नेछ’ भन्ने उल्लेख छ। तर उक्त अवधिमा नाम सिफारिस हुन नसकेका कारण अब यसको वैधानिकतामा पनि प्रश्न उठ्न थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।