काठमाडौं- सरकारले एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै छानबिनबाट कुनै अनियमितता भएको पाइएमा सरकारले सम्बन्धित सबैलाई कारबाही गर्ने जनाएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले एनसेलको सेयर खरिद-बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्नेछ।’
अध्ययन तथा छानबिनबाट कुनै अनियमितता पाइएमा दोषीलाई कडा कारबाहीको दायरामा ल्याउने बताउँदै विज्ञप्तिमा नेपाल र नेपालीको हित संरक्षण तथा प्रचलित कानुनको पालना गर्न/गराउन नेपाल सरकार प्रतिवद्ध रहने बताइएको छ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारी समेत नगराई अस्वभाविक प्रावधान र मूल्यमा भएक देखिने यो कारोबारका सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।