काठमाडौं- रुकुम पश्चिमको चौरहजारी नगरपालिका सोतीमा अन्तर्जातीय विवाहको विवादमा हत्या भएका नवराज विकसहित ६ जनाको मुद्दा जिल्ला अदालतमा बहस अन्तिमतिर पुगेको छ।
सोमबार प्रतिवादीका तर्फबाट बहस भएको थियो। मंगलबार बाँकी र जवाफी बहस सक्ने अदालतलको तयारी छ। दोस्रो दिनको बहसमा आरोपितका तर्फबाट कानुन व्यवसायीले बचाउ बहस गरेका थिए। उनीहरुले अभियोजन एकमुष्टमा भएकाले सबैलाई सफाइ दिनुपर्ने माग गरेका थिए। नियोजित हत्या नभई दुवै पक्का बीचमा भिडन्त भएको दाबी उनीहरुले गरेका थिए।
रुकुम जिल्ला अदालत (रुकुम पश्चिम) का न्यायाधीश डा खड्कबहादुर केसीको इजलासमा अन्तिम फैसलाका लागि आइतबारदेखि सुनुवाइ सुरु भएको हो। आइतबार सरकारी वकिल र पीडितका तर्फबाट सुनुवाइ भयो। जसमा दुई सरकारी वकिलसहित ९ जना वकिलले बहस गरेका छन्। आइतबार र सोमबार ६ बजेसम्म इजलासमा बहस गराइएको थियो।
जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार दुई जना प्रतिवादीका कानुन व्यवसायी र जवाफी बहस बाँकी छ। उक्त बहस चिया सत्रअघिसम्म सक्ने अनि सम्भव भए फैसला नै सुनाउने तयारी अदालतको रहेको उनले बताए।
१० जेठ २०७७ मा जाजरकोटको रानागाउँका २१ वर्षीय नवराज विक साथीसहित आफ्नी प्रेमिका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीसँग विवाहको कुरा गर्न पुगेका थिए। दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै सोती गाउँका स्थानीयले नवराज सहित उनका साथीलाई लेखेटेर हत्या थिए।
उक्त घटनामा ६ जनाको ज्यान गएको थियो भने १२ जना घाइते भएका थिए। मृतकहरुको शव भेरी नदीमा भेटिएको थियो। घटनाका सन्दर्भमा छानबिन गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय छानबिन समिति समेत गठन गरिएको थियो। संसदीय समितिले उक्त घटना नियोजित रुपमा भएको निष्कर्ष निकालेको थियो।
घटनाका सन्दर्भमा प्रहरीको अनुसन्धानपछि सोती गाउँका ३४ जनालाई प्रतिवादी बनाउँदै रुकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। प्रतिवादीहरुविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय मागदाबी गरिएको छ।
मुद्दाका अभियुक्तमध्ये जिल्ला अदालतले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। ११ जनालाई भने तारेखमा छाडिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।