काठमाडौं– अन्तरजातीय विवाहको विषयलाई लिएर ३ वर्ष अगाडि रुकुमको सोती गाउँमा नवराज विकसहित ६ जनाको हत्या घटनाको मुद्दामा आज (आइतबार)देखि सुनुवाइ हुँदैछ।
रुकुम पश्चिम जिल्ला अदालतमा आइतबारदेखि निरन्तर सुनुवाइ हुने जनाइएको छ। फैसला केन्द्रित सुनुवाइको पहिलो दिन आइतबार सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीले बहस गर्नेछन्।
उक्त घटनामा मारिएका नवराज विकसहित ६ जना पीडितको परिवारका तर्फबाट बहस गर्न रुकुम पश्चिम पुगेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासमा सुनुवाइ हुने जानकारी दिए।
‘आजबाट बहस हुँदैछ। आज (आइतबार) नै त सकिँदैन होला। १–२ दिन बहस हुने देखिन्छ। त्यसपछि फैसला आउला,’ वरिष्ठ अधिवक्ता त्रिपाठीले भने।
१० जेठ २०७७ मा जाजरकोटको रानागाउँका २१ वर्षीय नवराज विक साथीसहित आफ्नी प्रेमिका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीसँग विवाहको कुरा गर्न पुगेका थिए। दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै सोती गाउँका स्थानीयले नवराजसहित उनका साथीलाई लेखेटेर मारेका थिए।
उक्त घटनामा ६ जनाको ज्यान गएको थियो भने १२ जना घाइते भएका थिए। मृतकहरुको शव भेरी नदीमा भेटिएको थियो।
घटनाका सन्दर्भमा छानबिन गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय छानबिन समिति समेत गठन गरिएको थियो। संसदीय समितिले उक्त घटना नियोजित रुपमा भएको निष्कर्ष निकालेको थियो।
घटनाका सन्दर्भमा प्रहरीको अनुसन्धानपछि सोती गाउँका ३४ जनालाई प्रतिवादी बनाउँदै रुकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। प्रतिवादीहरुविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय मागदाबी गरिएको छ।
मुद्दाका अभियुक्तमध्ये जिल्ला अदालतले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। ११ जनालाई भने तारेखमा छाडिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।