काठमाडौं- भारतले एक खेल बाँकी छँदै अष्ट्रेलिया विरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ। शुक्रबार राति सम्पन्न सिरिजको चौथो खेलमा अष्ट्रेलियालाई २० रनले पराजित गर्दै भारतले सिरिज जितेको हो।
भारतले सिनियर खेलाडी विनै अष्ट्रेलिया विरूद्धको टी-२० सिरिज जितेको हो। एकदिवसीय विश्वकपमा पराजित भएपछि यो सिरिजमा भारतले रोहित शर्मा, विराट कोहली लगायत अनुभवी खेलाडीलाई आराम दिएको थियो। अष्ट्रेलियाले पनि यो सिरिजमा केही अनुभवी खेलाडीलाई मैदानमा उतारेको थिएन।
भारतले दिएको १७५ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ७ विकेटेको क्षतिमा १५४ रन मात्रै बनाउन सक्यो। ट्राभिस हेडको विस्फोटक ब्याटिङमा सुखद सुरूवात गरेको अष्ट्रेलिया उनको विकेटपछि धर्मराएको थियो।
४.४ ओभरमा अक्षर पटेलको बलमा मुकेश कुमारबाट क्याच आउट हुनअघि १६ बलमात्र खेलेका हेडले ५ चौका र १ छक्का प्रहार गर्दै ३१ रन बनाएका थिए।
त्यसअघि भारतका रवि बिस्नोईले ३.१ ओभरमा ओपनर जोस फिलिपेलाई बोल्ड गरेका थिए। ओपनरद्वय आउट भएपछि बेन मिकडेरमटले १९ रन, एरोन हार्डीले ८ रन, टिम डेविडले १९ रन, म्याथ्यु सोर्टले २२ रन म्याथ्यु वाडेले नट आउट ३६ रन बनाए।
बलिङमा भारतका अक्षर पटेलले ३, दीपक चाहरले २ तथा रवि बिस्नोई र अवेश खानले एक/एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा १७४ रन बनाएको थियो।
भारतका लागि रिंकु सिंहले सर्वाधिक ४६ रन बनाए। २९ बल खेलेका उनले ४ चौका र २ छक्का हाने।
पाँच खेलमध्ये भारतले सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।