काठमाडौं– युगान्डा आगामी टी–२० विश्वकपमा छनोट हुन सफल भएको छ। युगान्डाले टेस्ट टोली जिम्बावेलाई पछि पार्दै आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक विश्वकपमा स्थान बनाएको हो।
यसअघि अफ्रिकाबाट नामिबिया छनोट भइसकेको छ। आईसीसी टी–२० विश्वकप अफ्रिका छनोटमा युगान्डाले रवान्डालाई ९ विकेटले हराउँदै २०२४ मा हुने टी–२० विश्वकपमा स्थान वनाएको हो।
युगान्डा सिनियर स्तरको प्रतियोगितामा पहिलोपटक विश्वकपमा पुगेको हो। युगान्डाको यू१९ टोलीले ३ पटक विश्वकप खेले पनि सिनियर टोलीले खेल्न सकेको थिएन।
अफ्रिका छनोटमा रुवान्डाविरुद्ध जितका लागि ६६ रनको विजयी लक्ष्य पाएको युगान्डाले ८.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो।
अफ्रिका छनोटबाट एक खेल अगावै लगातार ५ जितका साथ नामिबिया विश्वकपमा पुगेको थियो। युगान्डा ६ खेलमा ५ मा जितका साथ १० अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकपमा छनोट भयो। उता जिम्बावेले अन्तिम खेल केन्यासँग खेलिरहेको छ। उक्त खेलमा जिम्बावे विजयी हुँदा मात्रै ८ अंक हुनेछ।
जिम्बावे नामिबिया र युगान्डासँग पराजित भएको थियो। यी २ हार जिम्बावेलाई भारी परेका हुन्। योसँगै आगमी वर्षको जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप खेल्ने सबै २० टोलीको टुङ्गो लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।