काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध दायर पुनरावलोकन निवेदनमाथि उच्च अदालत पाटनमा जारी सुनुवाइअन्तर्गत सरकारी पक्षको बहस सकिएको छ।
सरकारी पक्षबाट बुधबार ४ जना सरकारी वकिलले बहस गरे। बुधबार सरकारी वकिलहरु सहन्याधिवक्ता शंकर खत्री तथा महेश खत्री, उपन्यायाधिवक्ता प्रकाश न्यौपाने र सहायक न्यायाधिवक्ता ममता श्रेष्ठले बहस गरे।
निवेदक (मुद्दाका प्रतिवादी) पक्षका कानुन व्यवसायीको बहसपछि सरकारी वकिलले पनि बहस सक्काएका हुन्। अब प्रतिवादीका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। जवाफी बहस बिहीबार हुने उच्च अदालत पाटनले जनाएको छ।
जवाफी बहस सकिएपछि अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको हकमा जिल्लाकै थुनछेक आदेशलाई सदर गर्ने वा आदेश खारेज गर्ने भन्ने निर्णय सुनाउनेछ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देशमा पठाइदिने भन्दै नेपाली नागरिकबाट करोडौं रकम उठाएर ठगी गरेको प्रकरणमा पूर्व उपप्रधानमन्त्री र पूर्व गृहमन्त्री सहितका व्यक्ति प्रतिवादी छन्।
नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहितका प्रतिवादीलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। काठमाडौं जिल्ला अदालतले गत असार १ गते सुनाएको थुनछेक आदेशविरुद्ध उनीहरुले उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए।
उक्त निवेदनमाथि उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा निरन्तर हेर्दा हेर्दैमा राखेर सुनुवाइ भइरहेको छ।
बिहीबार प्रतिवादीका कानुन व्यवसायीले जवाफी बहस सके सम्भवत: बिहीबार नै अदालतले प्रतिवादीहरुलाई रिहा गर्ने वा थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने निर्णय सुनाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।