काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको पक्षमा उभ्याएको छ। महोत्तरीको जलेश्वरमा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकका क्रममा बुधबार पारित पार्टी दस्तावेजको प्रस्तावनामा सो विषय उल्लेख छ।
डा मुकुल ढकाल, कविन्द्र बुर्लाकोटी, स्वर्णिम वाग्ले, सन्तोष परियार लगायत १७ सदस्यीय नीति विचार कार्यदलले पार्टी दस्तावेजको प्रस्तावना तयार पारेको हो। भनिएको छ, ‘यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासन मार्फत् समन्यायिक समावेशी समाज निर्माण गर्नु हो’, प्रस्तावनामा भनिएको छ।
शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरु संविधानमा निर्दिष्ट गरी तदनुकूल राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य संचालनको अठोटलाई संवैधानिक समाजवादका रुपमा व्याख्या गर्दै अप्रिय ऐतिहासिक विरासतका रुपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरुविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरुको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइने रास्वपाको भनाइ छ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो’, प्रस्तावनामा भनिएको छ।
बैठकले सबै सांसदहरूलाई केन्द्रीय सदस्य मनोनित पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।