मन्थली– रामेछाप र दोलखा जिल्लाको सिमानामा पर्ने धार्मिक तथा पर्यटकी क्षेत्र सैलुङ्गको सीमा विवाद अझै कायमै रहेको छ। सीमा विवाद मिलाउन दुवै जिल्लाका सरोकारवालाबीच पटक–पटक छलफल भए पनि विवादको अझै टुङ्गो लाग्न सकेको छैन।
सैलुङ्गको सिमाना यकिन गर्न २०७७ फागुनमा रामेछाप र दोलखा जिल्ला समन्वय समितिले संयुक्त रुपमा नापी विभागलाई पत्राचार गरेका थिए। दोलखाले सैलुङ्गको टुप्पोलाई सिमाना कायम गर्नुपर्ने बताउँदै आएको छ भने रामेछापले २०३२ सालको नापीअनुसार नै सीमा कायम गर्नुपर्ने अडान राखेको छ।
सैलुङ्गको टुप्पोलाई सिमाना कामय गर्दा सैलुङ्गको अधिकांश भाग दोलखामा पर्ने र नापीअनुसार कायम गर्दा सो भाग रामेछापमा बढी पर्ने भएकाले दुवै जिल्लाले आ–आफ्नो अडान राखेका छन्।
हवाई दृश्यका आधारमा तयार भएको टोपोग्राफिक नक्सालाई आधार मान्दा सैलुङ्गको सय थुम्का भएको क्षेत्रमध्ये आधा भू–भाग रामेछाप जिल्लामा पर्दछ। २०३२ सालको नापी नक्साकै आधारमा सीमा कायम गरिनुपर्ने रामेछापले दाबी गर्दै आएको छ।
दोलखाले सैलुङ्गको सीमा विवादलाई उचालेको, तर यो आवश्यक नभएको रामेछापको दोरम्बा सैलुङ्ग गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले बताए। दोलखाले रामेछापमाथि हेपाहा प्रवृत्ति देखाएकाले सीमा विवादले चर्को रुप लिएको उनको भनाइ थियो।
रामेछापतर्फ पर्ने दोरम्बा सैलुङ्ग गाउँपालिकाले सैलुङ्गका अधिकांश भूमि नापी नक्सामा आफ्नो रहेको दाबी गर्दै आएको छ भने दोलखाले पानीढलो सीमा कायम गर्नुपर्ने दाबी रहेको जिल्ला समन्वय समिति दोलखाका निवर्तमान प्रमुख डबल पाण्डेले बताए। उनले भने, ‘यो क्षेत्र हाम्रो (दोलखा) जिल्लामा पर्ने भएर नै गाउँपालिकाको नाम सैलुङ्ग गाउँपालिका राखिएको छ।’
सैलुङ कुन जिल्लाको हो भन्ने विवाद निरुपण गर्न नसक्दा यस क्षेत्रको पूर्वाधार निर्माणसमेत ओझेलमा परेको छ। यसअघि प्रदेशमार्फत निर्माण गरिएको भ्यू टावर पनि संरक्षणको अभावमा जीर्ण बनिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।