काठमाडौं– आईसीसी यू–१९ विश्वकपको स्थान परिवर्तन भएको छ। श्रीलंकामा तय भएको प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सीले आईसीले सारेको हो।
श्रीलंका आईसीसीको निलम्बनमा परेपछि यू–१९ विश्वकप प्रतियोगिता दक्षिण अफ्रिका सारिएको हो।
यसअघि यू-१९ विश्वकप सन् २०२४ को जनवरी १३ देखि फेब्रुअरी ४ सम्म श्रीलंकामा आयोजना तय थियो। प्रतियोगिताको स्थान परिवर्तन गरिए पनि मिति भने यथावत राखिएको छ।
राजनीतिक हस्तक्षेप भएको भन्दै पछिल्लो समय आईसीसीले श्रीलंका क्रिकेटलाई आफ्नो सदस्यताबाट निलम्बन गरेको छ। भारतमा जारी एकदिवसीय विश्वकपकै क्रममा आईसीसीले श्रीलंका क्रिकेटलाई सदस्यताबाट निलम्बन गरेको थियो। सोही कारणले यू-१९ विश्वकप पनि श्रीलंकाबाट दक्षिण अफ्रिकामा सारिएको समाचारमा जनाइएको छ।
दक्षिण अफ्रिकाले यसअघि पनि दुईपटक यू-१९ विश्वकपको सफल आयोजना गरिसकेको छ। यसअघि दक्षिण अफ्रिकाले सन् १९९८ र सन् २०२० मा यू-१९ विश्वकप आयोजना गरेको थियो। आगामी यू-१९ विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ।
प्रतियोगितामा नेपाल, न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान समूह ‘डी’ मा परेका छन्। नेपालले आफ्नो पहिलो खेल जनवरी १३ न्युजिल्यान्डसँग खेल्ने तय भएको छ। प्रतियोगिताको समूह ‘सी’ मा जिम्बाबे, नामिबिया, श्रीलंका र अस्ट्रेलिया रहेका छन्।
यसैगरी प्रतियोगिताको समूह ‘बी’ स्कटल्यान्ड, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् । समूह ‘ए’ मा भने अमेरिका, आयरल्यान्ड, भारत र बंगलादेश रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।