काठमाडौं– टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा अर्को पनि रिट दर्ता भएको छ। यसअघि १० थान रिट दर्ता भएर पेसीमा चढेको थियो।
शुक्रबार दर्ता भएका रिटको सुनुवाइका लागि पेसी तोकिए पनि सोमबार हेर्न नभ्याउने हुँदै मंगलबारका लागि सरेको छ। सोमबार दर्ता भएको रिट पनि पेसीमा पठाइएको छ। यसअघि गत शुक्रबार १० वटा रिट दर्ता भएकोमा सोमबार अधिवक्ता जगन्नाथ दुलालसमेतले रिट दर्ता गरेका हुन्।
रिटमा टिकटक प्रतिबन्धका कारण संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुन गएकाले सरकारको निर्णय खारेजीको माग गरिएको छ।
त्यस्तै सरकारको निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पठाएको पत्राचार पनि बदरको माग गरिएको छ। धेरै नागरिकले टिकटकमार्फत् सूचना पाइरहेको समयमा टिकटक प्रतिबन्धले सूचनाको हक हनन गरेको रिटमा दाबी गरिएको छ।
टिकटकमार्फत् आफ्नो सिर्जनाको उद्यम गर्नेहरुको बौद्धिक सम्पत्ति लाखौं रुपैयाँको भएको र टिकटक बन्द गर्दा सम्पत्तिको हकको पनि हनन भएको रिटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।