चौरजहारी– रुकुम पश्चिममा जिप दुर्घनामा परी गम्भीर घाइते भएका २ जनाको मृत्यु भएको छ। सोमबार बिहान चौरजहारी नगरपालिका–८ को गोइरीज्युलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार सबै घाइते भएका थिए।
घाइतेमध्ये चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतिक बुढाको मृत्यु भएको हो।
बालक प्रतिकको उपचारका लागि एम्बुलेन्समार्फत् सुर्खेत लैजाने क्रममा सल्यानको नेटा भन्ने ठाउँमा ज्यान गएको हो। ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीले जानकारी दिए।
दुर्घटनामा २२ जना घाइते भएकामा ७ जनाको अवस्था चिन्ताजनक थियो। गम्भीर घाइतेमध्ये ५ जनाको अवस्था चिन्ताजनक रहेकाले गृह मन्त्रालयमा समन्वय गरेर हेलिकोप्टरमार्फत् उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको मेयर वादीले जानकारी दिए।
सोमबार बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदुरमुकाम खलङ्गा जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप चौरजहारी–८ गैरीजिउलामा दुर्घनामा परेको थियो। जिपमा सवार चालकसहित २२ जना घाइते भएका थिए।
घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ। जिपमा क्षमताभन्दा बढी सवारी चढाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले आकलन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।