काठमाडौं– छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ।
आइतबार साँझ कमलपोखरीमा ब्रतालु महिलाहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्। मधेसका जिल्लाहरुमा मनाइने छठ पर्व बसाइँसराइसँगै काठमाडौंमा पनि पछिल्लो समय भव्यताका साथ मनाइन थालिएको छ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा व्रतालुले दुवै हातमा चालमको घोल र सिन्दूर लगाएर अक्षता र फुलसहित पालैपालो अर्घ्य सामग्री सूर्य देवता समक्ष अर्पण गरेका छन्।
३६ घण्टासम्म पानीसमेत नखाई व्रत बसिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ दिँदै छठीमाताको पूजा आराधना गर्ने गरिन्छ। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि छठ विधिवत् रूपमा समापन हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।