काठमाडौं– आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको फाइनल खेलमा अस्ट्रेलियाले टस जितेको छ।
गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस जितेर अस्ट्रेलियाले पहिले फिल्डिङ रोजेको छ। भारतले पहिले ब्याटिङ गर्ने भएको छ।
विश्वकप क्रिकेटको इतिहासमा भारत र अस्ट्रेलिया दोस्रोपटक उपाधिका लागि भिड्दैछन्। १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनल पुगेको भारत उपाधिका लागि तीव्र दबाबमा छ। ५ पटकको विश्वविजेता अस्ट्रेलियाले पनि उपाधिका लागि कुनै ‘कसर’ बाँकी राख्ने छैन।
भारतले हालसम्म २ पटक विश्वकपको उपाधि हात पारेको छ। सन् १९८३ मा वेस्ट इन्डिज र २०११ मा श्रीलंकालाई पराजित गर्दै भारतले विश्वकपको उपाधि हात पारेको थियो। अस्ट्रेलियाले भने १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि चुमेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।