काठमाडौं– एकदिवसीय क्रिकेट विश्वकप २०२३ को अन्तिम प्रतिस्पर्धा आइतबार हुँदैछ। जारी विश्वकपका सबै खेल जितेर फाइनल पुगेको भारतबिरुद्ध खराब सुरुवात, तर उत्कृष्ट कमब्याक गरेको अस्ट्रेलिया भिड्दैछ।
नेपाली समयानुसार दिउँसो २:१५ अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने खेलमा अस्ट्रेलियासँग भारत दोस्रोपटक फाइनलमा भिड्दैछ। सन् २००३ मा भएको फाइनलमा अस्ट्रेलियाले भारतविरुद्ध १२५ रनको फराकिलो जित दर्ता गरेर विश्वविजेता बनेको थियो।
भारतीय टिम चौथोपटक फाइनल पुगेको छ। सन् १९८३, २००३ र २०११ मा भारत फाइनल पुगेको थियो। अस्ट्रेलिया ८ पटक फाइनलमा पुगिसकेको छ। यसअघि ७ वटा विश्वकपको फाइनलमा प्रतिस्पर्धा गरेको अस्ट्रेलियाले ५ पटक विश्वविजेताको ट्रफी हासिल गरेको छ। यसपल्ट लयमा देखिएको भारतलाई अस्ट्रेलियाको यही रेकर्डले तर्साइरहेको छ।
दुई टिमबीच यस विश्वकपको पाँचौं म्याचमा प्रतिस्पर्धा भएको थियो। चेन्नइमा भएको यस खेलमा भारतले ६ विकेटले जित निकालेको थियो।
भारत र अस्ट्रेलियाबीच भएका कुल १५० खेलमा भारतले जम्मा ५७ जित निकालेको छ। ८३ मा अस्ट्रेलियाले जित निकालेको छ भने १० खेल नतिजाबिहीन रहे।
अजेय भारतसँग अस्ट्रेलिया
भारत विश्वकपमा अजेय टिम हो। जसले समूह चरणका कुनै पनि खेलमा हारेन। अस्ट्रेलिया ६ विकेट, अफगानस्तान ८ विकेट, पाकिस्तान ७ विकेट, बंगलादेश ७ विकेट, न्यूजिल्याण्ड ४ विकेट, इंग्ल्याण्ड १०० रन, श्रीलंका ३०२ रन, साउथ अफ्रिका ४३ रन र नेदरल्यान्ड्स १६० रनले पराजित भएका थिए।
भारतले कुनै पनि टिमसँग प्रतिस्पर्धात्मक खेल खेलेन। सवैसँग एकपक्षीय नतिजा बनायो। समूह चरणमा खेलबाट १८ अंकका साथ टपमा रहेको भारतले न्यूजिल्याण्डलाई ७० रनले हराएर फाइनलमा स्थान बनाएको हो।
जारी विश्वकपमा अस्ट्रेलियाको सुरुवात खराब रह्यो। भारतसँग ६ विकेटले हारेर खेलको सुरुवात गरेको अस्ट्रेलिया दोस्रो खेलमा साउथ अफ्रिकासँग १३४ रनले पराजित भयो।
लगातार दुई खेल हारेर सुरुवात गरेको अस्ट्रेलियाले ७ खेल जितेर १४ अंकका साथ सेमिफाइनलको यात्रा तय गरेको थियो। उसले श्रीलंकालाई ५ विकेट, नेदरल्यान्ड्सलाई ३०९ रन, न्यूजिल्याण्डलाई ५ रन, इग्ल्यान्डलाई ३३ रन, अफगानस्थानलाई ३ विकेट र बंगलादेशलाई ८ विकेटले हरायो।
अहमदाबादको पीच ब्याटरलाई सहयोगी मानिन्छ। यहाँ बिचका ओभरमा स्पिनर्सलाई सहज हुन्छ। यहाँ खेलिएका ४ खेलमा ३ खेल चेज गर्ने टिमले जितेका छन्।
भारतलाई चुनौती बन्ने अस्ट्रेलियाका खेलाडी
अस्ट्रेलियाका ब्याटरले ठूलो स्कोर बनाउनेदेखि लिएर रन चेज गर्ने दबाब झेल्नु पर्दा पनि राम्रो प्रदर्शन गरिसकेका छन्।
विश्वकपमा राम्रो रन बनाउने टप १२ ब्याटरमध्ये ३ जना अस्ट्रेलियाका छन्। अस्ट्रेलियाका ओपनिङ ब्याटर डेभिड वार्नर विश्वकपमा सवैभन्दा धेरै रन बनाउने ब्याटरको सूचीको छैटौं स्थानमा छन्। उनले १० खेलमा ५२.८० को औसतमा खेलेर ५२८ रन बनाएका छन्।
उनी आक्रामक ब्याटरका रुपमा परिचित छन्। अर्का हुन् मिचेल मार्स। जसले खेलेका ९ खेलमा ५३.२५ को औसतमा ४२६ रन बनाएका छन्। उनले यो विश्वकपमा अहिलेसम्म २ शतक बनाएका छन्।
डटेर खेल्ने खेलाडीका रुपमा परिचय विस्तार गरेका ग्लेन म्याक्सवेल धेरै रन बनाउने ब्याटरको सूचीमा १२औं स्थनमा छन्।
फिल्डिङमा अस्ट्रेलिया भारतभन्दा बलियो मानिन्छ। भारतका पूर्व कप्तान सुनिल गावस्करले यसअघि नै भारतलाई फिल्डिङ र कोचिङमा ध्यान दिन सुझाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।