काठमाडौं– ४ देश सम्मेलित महिला टी–२० क्रिकेट सिरिजअन्तर्गत जापानविरुद्धको खेलमा नेपाल ४५ रनले विजयी भएको छ। नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएर जबाफी ब्याटिङमा उत्रिएको जापानले २० ओभरमा ६ विकेट गुमाएर मात्र ७० रन बनाउन सक्यो।
नेपालले आफ्नो अन्तिम खेलमा जापानलाई हराउँदै तेस्रो भएको छ। यसअघि समूह चरणमा लगातार २ खेलमा पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिएको थियो।
नेपाल पहिलो खेलमा तान्जानिया र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो। तेस्रो खेलामा नेपालले शनिबार जापानलाई ६७ रनले हराएको थियो।
आइतबार हङकङ क्रिकेट क्लबको मैदानमा पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको थियो। नेपालका लागि ओपनिङ ब्याटर पूजा महतोले सर्वाधिक ४३ रन बनाइन्। ५१ बलको सामना गरेकी उनले ३ चौका हिर्काइन्।
यस्तै, रोमा थापाले २२ तथा रुविना क्षेत्रीले २१ रन बनाइन्। १९ बलको सामना गरेकी ३ चौका हिर्काइन् भने १९ बल नै सामना गरेकी रुविनाले २ चौका प्रहार गरिन्।
नेपालका लागि कप्तान इन्दु बर्माले १२ रन बनाइन्। यस्तै, सीता रानामगरले ५, काजल श्रेष्ठले नटआउट ३ तथा अस्मिना कर्माचार्यले नटआउट २ रन बनाइन्।
जापानका लागि अहिल्या चन्देल, एरिका टोगुची क्विन र आयुमी फुजिकावाले १–१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको जापानका लागि ओपनर अकरी निशिमुराले सर्वाधिक २९ रन बनाइन्। हिनासे गोतोले १६ तथा अहिल्या चन्देलले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।
जापानविरुद्ध नेपालका संगीता राई, इन्दु बर्मा, सीता रानामगर, खुसी डंगोल र सोनी पाख्रिनले समान १–१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।