काठमाडौं– ४ देश सम्मेलित महिला टी–२० क्रिकेट सिरिजअन्तर्गत नेपालले लगातार दोस्रो हार बेहोरेको छ। सिरिजको दोस्रो खेलमा नेपाल बिहीबार हङकङसँग ९ विकेटले पराजित भयो।
हङकङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले हङकङलाई ५७ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हङकङले ९ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
हङकङका लागि नताशा माइल्सले सर्वाधिक ३० रन बनाइन्। यस्तै, शान्जीन शहजादले २० रन बनाइन्।
बिहीबारको खेलमा सुरुवातदेखि नै कमजोर प्रदर्शन गरेको नेपाल १८ ओभरमा मात्र ५६ रन बनाएर अलआउट भएको थियो।
नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक २५ रन बनाएकी थिइन्। उनले ३० बल खेलेकी थिइन्। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। सीता रानामगरले ९, रोमा थापाले नटआउट ७, पूजा महतोले ४, संगीता राईले २ रन जोडे।
त्यस्तै, सम्झना खड्का, बिन्दु रावल र कञ्चन श्रेष्ठले समान १ रन जोडेका थिए। काजल श्रेष्ठ, इन्दु बर्मा तथा अस्मिना कर्माचार्यले रन जोड्न सकेनन्।
नेपाल यसअघि तान्जानियासँग पराजित भइसकेको छ। हङकङसँग पनि पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिसकेको छ। सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।