काठमाडौं– भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनल खेलमा न्यूजिल्याण्डलाई ७० रनले हराउँदै भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनल पुगेको हो।
सन् २०११ यता भारतले विश्वकपको फाइनलमा स्थान बनाउन सकेको थिएन। भारतले उपाधिका लागि आगामी आइतबार अस्ट्रेलिया वा दक्षिण अफ्रिकामध्ये एक टिमसँग खेल्नेछ।
मुम्बईको वानखडे रंगशालामा भारतले दिएको ३९८ रनको विजयी लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ४८.५ ओभरमा ३२७ रनमा अलआउट भयो।
न्युजिल्यान्डका लागि ड्यारल मिचेलले सर्वाधिक १३४ रन बनाए। ११९ बल सामना गरेका मिचेलले ९ चौका र ७ छक्का प्रहार गरे। कप्तान केन विलियम्सनले ६९ रन जोडे। ७३ बल सामना गरेका विलियम्सन ७ चौकार १ छक्का प्रहार गरे। केन र मिचेलले तेस्रो विकेटका लागि १ सय ८१ रनको साझेदारी गरेका थिए।
भारतका मोहम्मद सामी ७ विकेट लिए। ९.५ ओभर बलिङ गरेका उनले ५७ रन खर्चिए। जसप्रित बुमराह, कुलदीप यादव र मोहम्मद शिराजले १–१ विकेट लिए।
टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा ३९७ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले कीर्तिमानी ब्याटिङ गर्दै ११७ रन बनाए। न्यूजिल्याण्डविरुद्धको खेलमा विराटले एकदिवसीय क्रिकेटमा ५०औं शतक पुरा गरेका हुन्।
यसअघि सचिन तेन्दुल्करको नाममा रहेको ४९ एकदिवसीय शतकको कीर्तिमान बराबरी गरेका कोहलीले बुधबार एकदिवसीय खेलमा सर्वाधिक शतकको नयाँ कीर्तिमान बनाएका हुन्।
भारतका श्रेयस अय्यरले पनि शतक प्रहार गरे। उनले ७० बलमा ४ चौका र ८ छक्काको मद्दतमा १०५ रन जोडे।
ओपनर तथा कप्तान रोहित शर्माले ४७ रन जोडे। अर्का ओपनर शुभमन गिल ८० रन र केएल राहुल ३९ रनमा नटआउट रहे।
भारतविरुद्धको बलिङमा न्यूजिल्याण्डका टिम साउथीले ३ विकेट लिए।
विश्वकप क्रिकेटको दोस्रो फाइनल बिहीबार हुँदैछ। बिहीबार अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल आइतबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।