नेपाली महिला क्रिकेट टोली (फाइल तस्बिर) काठमाडौं– ४ देश सम्मिलित टी–२० महिला क्रिकेट सिरिजअन्तर्गत तान्जानियाविरुद्धको पहिलो खेलमा नेपाल २७ रनले पराजित भएको छ। ११६ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपाल १६.५ ओभरमा ८८ रन बनाउँदै अलआउट भयो।
हङकङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो।
तान्जानियाका लागि हुदा उमरीले सर्वाधिक २५ रन बनाइन्। ऐशा मुहम्मदले २१, सौम मतइले १६, कप्तान फतुमा किबसुले ११ र मोनिका पास्कलले १० रन बनाइन्। अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेनन्।
तान्जानियाविरुद्ध नेपालकी संगीता राईले २ विकेट लिइन्। पूजा महतो, रुविना क्षेत्री र इन्दु बर्माले समान १–१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि सीता राना मगरले ४३ रन बनाए पनि अन्य ब्याटरले भने अपेक्षित प्रदर्शन गर्न सकेनन्। कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक समेत जोड्न सकेनन्।
नेपालविरुद्ध तान्जानियाकी सोफिया जेरोमले ३ तथा नीमा पियुसले २ विकेट लिइन्। यस्तै, पेरिके जकायो, म्वान्मभुवा उशांगा र ऐशा मोहम्मदले १–१ विकेट लिइन्।
नेपाल र तान्जानिया पहिलोपटक भिडेका हुन्। आईसीसी वरीयतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा रहेको छ। जारी सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।