काठमाडौं– ४ देश सम्मिलित टी–२० सिरिजअन्तर्गत तान्जानियाविरुद्धको पहिलो खेलमा नेपालले जितका लागि ११६ रनको लक्ष्य पाएको छ। हङकङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनायो।
तान्जानियाका लागि हुदा उमरीले सर्वाधिक २५ रन बनाइन्। ऐशा मुहम्मदले २१, सौम मतइले १६, कप्तान फतुमा किबसुले ११ र मोनिका पास्कलले १० रन बनाइन्। अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेनन्।
तान्जानियाविरुद्ध नेपालकी संगीता राईले २ विकेट लिइन्। पूजा महतो, रुविना क्षेत्री र इन्दु बर्माले समान १–१ विकेट लिए।
नेपाल र तान्जानिया पहिलोपटक भिडिरहेका हुन्। आईसीसी वरीयतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा रहेको छ। जारी सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।