काठमाडौं– आईसीसी एक दिवसीय विश्वकपको १३औं श्रृङ्खलाको पहिलो सेमिफाइनल खेल आज (बुधबार) हुँदैछ। नेपाली समयानुसार दिउँसो २:१५ बजेदेखि सुरु हुने खेलमा भारत र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।
घरेलु मैदान, मुम्बईको वानखडे रंगशालामा फेरि एकपटक न्यूजिल्याण्डको सामना गर्दा भारत विगतको हार बिर्सेर, फाइनलमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। घरेलु मैदानमा दर्शकको उत्साहपूर्ण साथका बीच भारतलाई इतिहासको हार बिर्साउने मौका हुनेछ।
वानखडेमा न्यूजिल्याण्डको सामना गरिरहँदा भारतीय टोली र क्रिकेट फ्यानले सन् २०१९ को खेललाई भने याद गरि रहनेछन्। सन् २०१९ को विश्वकपमा न्यूजिल्याण्डले नै भारतलाई सेमिफाइनल पुग्नबाट रोकेको थियो।
भारतमा भइरहेको विश्वकपको सेमिफाइनलको समिकरण टुंगिएदेखि नै चर्चा भइरहेको छ– के भारतीय टिमका खेलाडी पुरानो प्रदर्शनलाई ख्याल गर्छन त? यसको जवाफमा कप्तान रोहित शर्मा विगतभन्दा पनि वर्तमानमा कसरी उत्कृष्ट प्रदर्शन गर्नेमा केन्द्रित हुने बताउँछन्।
प्रिम्याच कन्फ्रेन्समा भारतका कप्तान शर्माको भनाइ थियो, ‘यो टिममा एउटा के खुवी छ भने पहिलोपटक १९८३ मा विश्वकप जित्दा केही खेलाडी जन्मेका पनि थिएनन्। जब २०११ मा जितियो तत्कालीन समयमा आधाले खेल्न थालेका थिएनन्।’ आफू र आफ्नो टोलीले बितेको खेलमा छलफल नगर्ने र आजको खेल कसरी उत्कृष्ट बनाउने भन्नेमा केन्द्रित हुने उनले दाबी गरे।
रोहितले सेमिफाइनल मात्र नभइ हरेक खेलमा दबाब हुने बताए। दबाबको सामना गर्न तयार भएर मैदान उत्रिने उनको भनाइ थियो।
भारतीय टिम जारी विश्वकपअन्तर्गत लिग चरणमा सबै टोलीमाथि हाबी भएको थियो। यद्यपि लिग चरणको जस्तो ‘मौका’ भने सेमिफाइनलमा हुने छैन। समूह चरणमा एउटा खेल हार्दा अर्को खेल जित्ने मौका हुन्थ्यो। सेमिफाइनलमा भने त्यस्तो मौका हुने छैन।
कप्तान रोहित भन्छन्, ‘हामीले जुन खेल खेलिरहेका छौँ, यो साताभरी हामीले जे खेल्यौँ, त्यसले हाम्रो क्षमता देखाएका छौँ। हामीले त्यही खेललाई निरन्तरता दिन जरुरी छ। थप अलग गर्न आवश्यक छैन।’
भारतीय टिमका कप्तान रोहितले आत्मविश्वाससहित जित निकाल्ने दाबी गरिरहँदा न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले भने मुम्बइमा जे पनि हुनसक्ने भन्दै भारतीय टिमलाई एकहिसाबले ‘चेतावनी’ दिएका छन्। उनले सेमिफाइनका लागि आफूहरु सबै रुपमा तयार रहेको बताएका छन्। भारतलाई फेरि एकपटक हराउन आफूहरु सक्षम रहेको न्यूजिल्याण्डका कप्तानको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।