काठमाडौं– आईसीसी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलअघि न्यूजिल्याण्डका कप्तान केन विलियमसनले मुम्बईमा जे पनि हुन सक्छ भन्दै भारतीय टिमलाई चेतावनी दिएका छन्।
दुवै टिमबीच बुधबार दिउँसो सवा २ बजे मुम्बईको वानखेडे स्टेडियममा खेल सुरु हुनेछ। उक्त खेलअघिको पत्रकार सम्मेलनमा उनले आफूहरु भारतलाई स्तब्ध बनाउन रणनीति तयार पारेको संकेत गरेका हुन्।
भारतीय टिम यो विश्वकपमा अविजित रहँदै सेमिफाइनलमा पुगेको हो भने न्यूजिल्याण्ड ५ खेल जितेर अन्तिम ४ मा पुगेको हो। ‘यदि हामीले आफ्नो क्षमताले खेल्यौं भने जे पनि हुन सक्छ,’ खेलअघि विलियमसनले भने।
आईसीसी प्रतियोगितामा भारतसँगको खेलमा न्यूजिल्याण्डको रेकर्ड राम्रो छ। सन् २०१९ को विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डले भारतलाई हराएको थियो।
विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा पनि न्यूजिल्याण्डले भारतलाई हराएको थियो। विश्वकपमा भारतीय टिमको प्रदर्शन खास रहे पनि सेमिफाइनलमा दुवै टिमसँग बराबरीमा मौका रहेको न्यूजिल्याण्डका कप्तान विलियमसनले बताए।
‘हामी उत्कृष्ट प्रदर्शन गरिरहेका छौं भने हामीसँग सबैभन्दा राम्रो मौका छ,’ उनले भने।
रोहितको दाबी : न्यूजिल्याण्डको कमजोरी थाहा छ
भारतीय कप्तान रोहित शर्माले न्यूजिल्याण्डको बलियो पक्ष र कमजोरी आफूहरुलाई थाहा भएकाले सहज हुने दाबी गरे। भारत अविजित रहँदै सेमिफाइनल पुगेको हो। लिग चरणमा भारतले न्यूजिल्याण्डलाई भारतले ४ विकेटले जितेको थियो।
उक्त खेलमा कप्तान केन विलियमसन चोटका कारण कारण अनुपस्थित थिए। मुम्बईमा हुने खेलमा उनी मैदानमा उत्रने छन्। कप्तान केनले भारतसँग हारको बदला लिने मौका रहेको बताएका छन्।
मुम्बईमा हुने सेमिफाइनल खेलको सबै टिकट बिक्री भइसकेको छ र धेरैजसो दर्शकले भारतीय टिमको समर्थन गरिरहेका छन्। न्यूजिल्याण्ड २०१९को खेल दोहोर्याउन चाहन्छ भने भारत उक्त खेल बिर्साउन चाहन्छ।
यसैतर्फ लक्षित गर्दै न्यूजिल्याण्डका कप्तान केनले भने, ‘हामी सेमिफाइनलमा पूरै स्टेडियमा निलो (भारतीय टिमको जर्सीको रङ) हुने आशा गर्छौं। हाम्रो टिमको खेलाडीलाई हरेक परिस्थितिमा खेल्ने अनुभव छ। यस्तो वातावरणमा खेल्ने मौका पाउनु विशेष कुरा हो।’
फेरि इतिहास बनाउन चाहेको र तयार रहेको केनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।