काठमाडौं– भारतमा जारी विश्वकप क्रिकेटको लिग चरणको खेल सकिएको छ। अब सेमिफाइनलको खेल हुनेछ। सेमिफाइलनमा लागि ४ टिम छनोट भएका छन्।
भारतले पहिलो चरणमा सबै खेल जितेर १८ अंकसहित शीर्ष स्थानमा छ भने दक्षिण अफ्रिका,अस्ट्रेलिया र न्यूजील्याण्ड क्रमश: छन्। अब सेमिफाइलनका खेलहरु हुनेछन्।
सेमिफाइलन खेल १५ र १६ तारिखमा खेलाइने छ। त्यसबाट विजेता हुनेहरुले विश्वकपको उपाधिका भिड्नेछन्।
सेमिफाइलनमा पुगेका ४ देशका धेरै खेलाडीहरु यस्ता छन् जसले नजिता आफ्नो बलमा एक्लै उल्टाउन सक्छन्।
लिग चरणको खेलमा अफगानिस्तानले आफ्नो पक्षमा पारिसकेको खेल अस्ट्रेलियाका ग्रेलन म्याक्सवेलले एक्लै दोहोरो शतक प्रहार गरेर खोसेका थिए। यी चार टिममा धेरै त्यस्ता खेलाडी छन् जसले आफ्नो प्रदर्शनले यस्तो प्रभाव पार्न सक्छन्।
भारत
भारतका तर्फबाट विश्वकप खेलिरहेका सबै खेलाडीहरु म्याच जिताउन सक्ने क्षमता भएका छन्। तीमध्ये रोहित शर्मा, विराट कोहली, शुभमन गिल र जसप्रित बुमराहले जुनसुकै समयमा खेल आफ्नो पक्षमा पार्न सक्ने देखिन्छ।
लिग चरणको खेलमा भारतका विराट कोहली सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् भने जसप्रित बुमराहले ९ खेलमा १७ विकेट लिएका छन्।
अस्ट्रेलिया
अस्ट्रेलिया पनि यो विश्वकपको प्रमुख दाबेदार हो। यसअघि ५ पटक विश्व विजेता बनेको अस्ट्रेलिया यसपटक उक्त छवि दोहोर्याउने दाउमा छ। तर दक्षिण अफ्रिकालाई यसले सेमिफाइनलमा प्रतिस्पर्धी पाएको छ। जसका कारण फाइनमा पुग्न अस्ट्रेलियालाई चुनौती देखिन्छ।
अस्ट्रेलिया ब्याटिङ र बलिङ दुवैमा सन्तुलित टिम लिएर भारतमा विश्वकप खेल्न आएको छ। उससँग फास्ट बलर, अल राउन्डर र ब्याटिङका लागि चर्चित खेलाडीहरु छन्। यो विश्वकमा गरेको प्रर्दशन हेर्दा पनि अस्ट्रेलियाका केही खेलाडीले विश्वकप जिताउन एक्लै पनि भूमिका खेल्नसक्ने क्षमता देखाएका छन्।
जसरी अफगानिस्तानसँगको खेलमा हारको मुखबाट ग्लेन म्याक्सवेलले जिताए। उनी एक्लैले खेल जिताएपछि उनको बारेमा धेरै प्रशंसा सुनिएको छ जुन जितले अस्ट्रेलियालाई सेमिफाइलन पुर्यायो। उनी सबैभन्दा धेरै रन बनाउने खेलाडीको रुपमा छन्।
उनले यो विश्वकपमा सवैभन्दा धेरै स्कोर बनाउने खेलाडीको रेकर्ड बनाएका छन्। उनले १२८ बलमा २१ चौका र १० छक्का प्रहार गरेर अविजित २०१ रन बनाए। त्यस्तै अस्ट्रेलियाको पक्षमा खेल पल्टाउने सक्ने अर्का खेलाडी हुन डेभिड वार्नर, उनी ओपनिङ र आक्रामक ब्याटिङका लागि चर्चित छन्।
यो विश्वकपमा उनी सर्वाधिक रन बनाउने पाँचौ खेलाडीको रुपमा छन्। उनले ९ खेलमा ४९९ रन बनाएका छन्। त्यस्तै अर्को प्रभाव पार्नसक्ने खेलाडी हुन् मिचेल मार्स। दायाँ हाते ब्याटर एवं अलराउन्डर मिचेल पनि आक्रामक इनिङका लागि प्रख्यात छन्। उनी पनि यो विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा सातौं नम्वरमा छन्। उनले ९ खेलमा ४२६ रन बनाएका छन्।
न्यूजील्याण्ड
रचिन रविन्द्रले यो विश्वकपमा तहल्का मच्चाइरहेका छन्। न्यूजील्याण्डका भरपर्दा ब्याटिङ अलराउन्डर रवीन्द्र यो विश्वकपमा भारतमा महान खेलाडी सचित तेन्दुलकरको रेकर्डसमेत तोडेका छन्।
२३ वर्षीय रचिनले आईसीसी एकदिवसीय विश्वकपको ३४ बलमा तीन छक्का र तीन चौकाको मद्दतले ४२ रन बनाएका थिए। त्यो खेलपछि रचिन २५ वर्षभन्दा कम उमेरमा एकदिवसीय विश्वकपको एउटै संस्करणमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान बने।
यसअघि यो कीर्तिमान सचिनको नाममा थियो। सचिनले सन् १९९६ को एकदिवसीय विश्वकपमा कूल पाँच सय २३ रन बनाएका थिए। त्यतिबेला सचिनको उमेर पनि २३ वर्ष नै थियो। उनी सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो नम्बरमा छन्। यो विश्वकपमा उनले ९ खेलमा ५६५ रन बनाएका छन्।
त्यस्तै न्यूजील्याण्डका तर्फबाट खेलमा नजिता उल्टाउन सक्नेमा टिभ साउथी, डेरेल मिचेल र डेभोन कानवे जस्ता खेलाडी रहेका छन्। मिचेल र कानवे अलरान्डर हुन्। उनीहरु यो विश्वकपमा सर्वाधिक रन बनाउने १० खेलाडीभित्र छन्।
दक्षिण अफ्रिका
क्विन्टन डी कक जसले जुनसुकै बलमा पनि कडा प्रहार गर्न सक्ने क्षमता राख्दछन्। उनी यो विश्वकपको सबैभन्दा धेरै रन बनाउने खेलाडीमा दोस्रो नम्बरमा छन्। पहिलो नम्बरमा भारतमा विराट कोहली रहेका छन् भने उनलाई डी ककले पछ्याइरहेका छन्।
डी ककले हालसम्म ९ इनिङमा ५९१ रन बनाएका छन्। उनको एभरेज स्कोर ६५.६६ रहेको छ। त्यस्तै दक्षिण अफ्रिकाका रसेल भान डेर डुसिन पनि अर्को प्रभाव पार्न सक्ने खेलाडी हुन्।
उनी पनि यो विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीभित्र पर्दछन्। उनले ४४२ रन बनाएर छटौ धेरै रन बनाउने खेलाडीको रुपमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।