काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले यो वर्ष नेपाली क्रिकेटका लागि धेरै राम्रो भएको उल्लेख गर्दै अब आइसिसी ट्वान्टी–२० विश्वकपतर्पm ध्यान रहेको बताएका छन्।
ओमानसँगको फाइनलमा हारपछि उनले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै समग्रमा यो वर्ष नेपाली खेलाडीले धेरै राम्रो गरेको धारणा राखे।
एउटा फाइनल हेरेर मात्र हुँदैन समग्रमा यो वर्ष खेलाडीले धेरै मेहनत गरेको उनको धारणा छ। मोन्टीले ब्याटिङमा राम्रो गरे पनि बलिङतर्फ पावरप्लेमा केही गल्ती भएको बताए।
खेल टाइ भएपछि सुपर ओभरमा धकेलिएको थियो। तर, सुपर ओभरमा नेपालले राम्रो गर्न नसक्दा हार व्यहोर्यो।
उनले ट्वान्टी–२० को राम्रो बलरका रूपमा अविनाश बोहोरालाई नै सुपर ओभरमा प्रयोग गरिएको उल्लेख गरे। यद्यपि, आज उनले राम्रसँग दबाब दिन नसकेको बताए।
ओमानका बलर बिलाल खानले पनि आफ्नो योजनाअनुसार गर्न सक्दा सुपर ओभरमा हार सामना भएको पनि धारणा राखे। तर, समग्रमा भने यस प्रतियोगितामा नेपालले राम्रो गरेको उनको भनाइ छ।
विवेक यादव जस्तो खेलाडी अगाडि आउनु पनि सुखद् पक्ष रहेको प्रशिक्षक मोन्टीको बुझाई छ। स—साना बच्चाहरू क्रिकेट हेर्न आउनु भनेको नेपालका लागि सुखद पक्ष रहेको पनि प्रशिक्षक मोन्टीले बताए।
हारको संघारमा पुगिसकेको अवस्थामा समर्थकको साथप्रति पनि उनले प्रंशसा गरे। नेपालका कप्तान रोहित पौडेलले फाइनलको नतिजा आफ्नो पक्षमा नआए पनि यो प्रतियोगिताबाट धेरै सकरात्मक नतिजाहरू प्राप्त भएको उल्लेख गरे।
अब विश्वकप आउन ५/६ महिनाको समय रहेको र यसबीच शृंखलाहरू व्यवस्थापन गर्दै राम्रो तयारी गर्नुपर्ने रोहितले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।