काठमाडौं– आईसीसी टी–२० विश्वकपमा छनोट भएको नेपालको वरीयतामा पनि सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी–२० वरीयतामा नेपाल १५औं स्थानमा उक्लिएको छ।
टी–२० विश्व कप एसिया क्षेत्र छनोट अघि नेपाल १६औं स्थानमा थियो। नेपालले विश्व कप छनोटमा ४ मध्ये ३ खेल जितेसँगै वरीयता पनि सुधार भएको हो। नेपालले नेदरल्यान्ड्सलाई पछि पार्दै एक स्थान सुधार गरेको हो। नेदरल्याण्ड्स १६ औं स्थानमा छ।
आईसीसी टी–२० वरीयतामा भारत शीर्ष स्थानमा छ। यस्तै, इङ्ग्ल्यान्ड दोस्रो, न्युजिल्यान्ड तेस्रो, अस्ट्रेलिया चौथो, पाकिस्तान पाँचौँ, दक्षिण अफ्रिका छैटौँ, वेस्ट इन्डिज सातौँ, श्रीलङ्का आठौँ र बङ्लादेश नवौँ स्थानमा छन्।
त्यस्तै, अफगानिस्तान १०औँ, जिम्बावे ११औँ, नामिबिया १२औँ, आयरल्यान्ड १३औँ र स्कटल्यान्ड १४औँ स्थानमा छन्। यूएई १७औँ, ओमान १८औँ र पपुवा न्युगिनी १९औँ स्थानमा छन्।
आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै विश्व कपमा स्थान बनाएको हो। उपाधिका लागि नेपालले आज (आइतबार) ओमानसँग खेल्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।