काठमाडौं- आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा शुक्रबार नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ।
आजको खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछ। त्यसैले दुवै टोलीलाई यो खेल जित्नैपर्ने दबाब छ। नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका हुन्।
जारी प्रतियोगिताको समूह चरणमा नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो तर बिहीबारको भएको खेलमा भने ओमानसँग ५ रनले पराजित भई उपविजेतामा सीमित भएको थियो।
यूएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले र हङकङलाई २२ रनले हराएको थियो। आजको अर्को सेमिफाइनल खेल कीर्तिपुर मैदानमा ओमान र बहराइनबीच हुनेछ । फाइनल खेल पर्सी आइतबार कीर्तिपुर मैदानमा हुनेछ।
नेपाल सन् २०२१ को छनोट खेलमा यूएईसँग ६८ रनले पराजित हुँदै विश्वकप पुग्न सकेको थिएन। नेपाल र यूएईबीच हालसम्म ८ वटा टी–२० खेल भएका छन्। जसमा नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।