काठमाडौं- नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेल यूएईसँग खेल्ने पक्का भएको छ। नेपालले अन्तिम खेल ओमानसँग पाँच रनले गुमाएपछि यूएईलाई सेमिफाइनल प्रतिस्पर्धीको रुपमा पाएको हो।
यूएई अर्को खेलमा हङकङलाई २२ रनले हराउँदै समूह बीको विजेता बनेको छ भने नेपाल उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ।
यसअघि त्रिदेशीय श्रृंखलामा नेपाल यूएईसँग फाइनलमा पराजित भएको थियो। समूह चरणको खेलमा जितेको नेपाल फाइनलमा भने स्तब्ध भएको थियो। फेरि एक पटक नेपाललाई यूएईलाई पराजित गर्दै विश्वकप खेल्ने बाटो बनाउनुपर्ने भएको छ।
नेपालले मुलपानी मैदानमा शुक्रबार सेमिफाइनल खेलमा यूएईसँग खेल्नेछ। उक्त खेलमा विजयी भएमा नेपालले सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउनेछ।
नेपाल ३ खेलमा २ जित र १ मा हारसहित ४ अंकका साथ समूह एको दोस्रो स्थानमा रह्यो। ओमान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो।
समूह बीमा यूएई ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो। अब अन्तिम खेलमा कुवेत र बहराइन हुँदैछ। उक्त खेलमा बहराइन विजयी भएमा सेमिफाइनलमा पुग्नेछ।
तर, बहराइन पराजित भएमा नेट रनरेटको आधारमा तीनमध्ये एक टोली सेमिफाइनल खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।