काठमाडौं– भारतमा जारी आईसीसी वान डे विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डमाथि १९० रनको फराकिलो जित निकालेको छ।
३५८ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको न्यूजिल्याण्ड ३५ दशमलव ३ ओभरमा अलआउट हुँदै १६७ रनमै समेटियो।
टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ३५७ रन बनाएको थियो। न्यूजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाए।
विल यौङ ३३ र ड्यारेल मिचहेल २४ रन बनाउनुबाहेक न्यूजिल्याण्डका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
दक्षिण अफ्रिकालाई फराकिलो जित दिलाउनका लागि केशव महाराजले ४ विकेट लिए। यस्तै मार्को जेशनले ३, गराल्ड कटेजले २ र कागिसो रबाडाले एक विकेट लिए। यसअघि दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट मात्र गुमाउँदै ३५७ रनको विशाल स्कोर बनाएको थियो।
दक्षिण अफ्रिकाका लागि क्विन्टन डी–कक र रस्सी भान डर डुसेनले विस्फोटक शतकीय पारी खेले। क्विन्टनले ११६ बलको सामना गर्दै ११४ रन जोडे। जारी विश्वकप प्रतियोगितामा उनको नाममा योसहित चार शतक रह्यो।
यस्तै अर्का ब्याट्सम्यान रस्सी भान डर डुसेनले पनि विस्फोटक पारी खेल्दै ११८ बलको सामना गर्दै १३३ रनको योगदान दिए। कप्तान टेम्बा बवुमा भने २८ बलमा २४ रन बनाउँदै आउट भएका थिए।
यस्तै डेविड मिलरले पनि दक्षिण अफ्रिकाका लागि अर्धशतक प्रहार गरे। उनले ३० बलमा ५३ रनको पारी खेले। हेन्रिच क्लासनले नटआउट १५ रन जोड्दा अदिन मार्करम ६ रनमा अविजित रहे।
न्यूजिल्याण्डका लागि भने टिम साउथीले १० ओभरमा ७७ रन खर्चिएर २ विकेट लिए। ट्यारेन्ट बाउल्टले र जेम्स नीशामले एक/एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।