काठमाडौं– भारतमा जारी आईसीसी वान डे विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई ३५८ रनको विशाल लक्ष्य दिएको छ।
टस हार्दै ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा मात्र ४ विकेट गुमाउँदै ३५७ रनको योगफल खडा गरेको हो।
दक्षिण अफ्रिकाका लागि क्विन्टन डी–कक र रस्सी भान डर डुसेनले विस्फोटक शतकीय पारी खेले। क्विन्टनले ११६ बलको सामना गर्दै ११४ रन जोडे। जारी विश्वकप प्रतियोगितामा उनको नाममा योसहित चार शतक रह्यो।
यस्तै अर्का ब्याट्सम्यान रस्सी भान डर डुसेनले पनि विस्फोटक पारी खेल्दै ११८ बलको सामना गर्दै १३३ रनको योगदान दिए। कप्तान टेम्बा बवुमा भने २८ बलमा २४ रन बनाउँदै आउट भएका थिए।
यस्तै डेविड मिलरले पनि दक्षिण अफ्रिकाका लागि अर्धशतक प्रहार गरे। उनले ३० बलमा ५३ रनको पारी खेले। हेन्रिच क्लासनले नटआउट १५ रन जोड्दा अदिन मार्करम ६ रनमा अविजित रहे।
न्यूजिल्याण्डका लागि भने टिम साउथीले १० ओभरमा ७७ रन खर्चिएर २ विकेट लिए। ट्यारेन्ट बाउल्टले र जेम्स नीशामले एक/एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।