काठमाडौं– नेपालमा जारी आईसीसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा समूहचरणका दुई खेल जितेको नेपाल सेमिफाइनलमा पुगेको छ।
समूह चरण अन्तर्गत हुने तीन खेलमध्ये नेपालले सोमबार सिंगापुर र मंगलबार मलेसियालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो।
मंगलबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ। पहिलो खेलमा सोमबार सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो। योसँगै समूह ‘ए’ बाट सेमिफाइनलमा नेपाल र ओमान पुगेका छन्।
सोमबार नेपालसँग पराजित भएको सिंगापुर मंगलबार ओमानसँग पराजित भएको हो। यस्तै समूह ‘ए’ रहेको मलेसिया सोमबार ओमानसँग र मंगलबार नेपालसँग पराजित भयो। सिंगापुर र मलेसिया समूहचरणका दुवै खेलमा पराजित हुँदै छनोट खेलबाट बाहिरिएका हुन्।
बुधबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलपछि समूह विजेता र उपविजेता बन्दै सेमिफाइनलमा दुवै टिम जानेछन्। नेपालको दुवै खेलमा जितका लागि ओपनर कुशल भुर्तेलको महत्त्वपूर्ण भूमिका देखिएको छ। उनले उत्कृष्ट ओपनिङ गरिरहेका छन्।
मंगलबारको खेलमा पनि मलेसियाविरुद्ध २४ बलमा ४३ रनको विष्फोटक ओपनिङ भुर्तेलले गरे। उनले उक्त रन चार चौका र चार छक्काको सहयोगमा पुर्याएका हुन्।
यस्तै उत्कृष्ट लयमा देखिएका कुशल मल्लले पनि आज विष्फोटक पारी खेले। उनले दुई चौका र सात छक्का प्रहार गर्दै नेपालका लागि सर्वाधिक ६५ रनको योगदान दिए।
ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ५.२ ओभरमा ४९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। कुशल पवनदीप सिंहको बलमा मिडअफमा शार्विन मुनिआन्दीबाट क्याच आउट भएपछि तेस्रो अर्धशतक बनाउन चुकेका थिए।
दोस्रो विकेटका लागि कुशल मल्ल र आसिफ शेखले नेपाललाई विस्फोटक सुरुवात गर्दै ६७ रनको साझेदारी गरे । आसिफ २३ बलमा १ चौका र २ छक्कासहित ३२ रनमा कट एण्ड बोल्ड आउट भए।
तर कप्तान रोहित पौडेल २ रनमै आउट भए। उनीपछि आएका सन्दीप जोरा १६ बलमा २ चौकासहित १८ र विवेक यादव २ रनमा अविजित रहे। मलेसियाका अमिर अजिमले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। पवनदीपको नाममा १ विकेट रह्यो।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो। मलेसियाका ओपनर सैद अजिजले ४९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिए पनि जितको लागि पर्याप्त हुन सकेन।
तर मलेसियाको सुरुवात भने राम्रो गरेको थियो। ओपनर अहमद जुबैदी र सैद अजिजले ५.५ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए।
अभिनाश बोहराको छैटौं ओभरको पाँचौं बलमा जुबैदी कुशल मल्लबाट क्याच आउट भए। जुबैदीले १६ बलमा ३ चौकासहित २४ रन बनाए। त्यसपछि नेपाल खेलमा फर्किएको थियो। बोहोरा एक्लैले चार विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।