काठमाडौं- आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको दोस्रो खेल मंगलबार नेपाल र मलेसियाबीच हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १ बजेबाट सुरु हुनेछ। घरेलु टोलीले सोमबार सिंगापुरलाई ८ विकेटले हराएको थियो।
प्रतियोगिताको दोस्रो दिन आज चार खेल खेलाइनेछ। पहिलो खेल सिंगापुर र ओमानबीच कीर्तिपुर मैदानमा हुनेछ भने दोस्रो खेल नेपाल र मलेसियाबीच हुनेछ।
मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा पनि दुई वटा खेल खेलाइनेछ। पहिलो खेल बहराइन र हङकङबीच हुनेछ भने दोस्रो खेलमा कुवेत र यूएईबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा नेपाल सहित आठ टिम सहभागी छन्। प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’मा छ। यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन्।
समूह ‘बी’मा यूएई, बहराइन, हङकङ र कुवेत छन्। प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्। यो छनोटबाट फाइनलमा पुग्ने दुई टिम आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।