काठमाडौं– एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औं संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व गर्ने चलचित्र ‘हल्कारा’ अमेरिकामा ‘एसियन वर्ल्ड फिल्म फेस्टिभल’को नवौँ संस्करणमा छनोट भएको छ।
कात्तिक २२ देखि मङ्सिर १७ गतेसम्म अमेरिकाको लस–एन्जलसस्थित कल्भर सिटीमा आयोजना हुने महोत्सव अन्तर्गत प्रतिस्पर्धात्मक खण्डमा छनोट भएको निर्देशक विक्रम सापकोटाले जानकारी दिए।
‘हाम्रो चलचित्र अवार्डमा छनोट भएको जानकारी दिन पाउँदा उत्साहित छौं। दुई प्रदर्शनी तय गरिएको छ। हाम्रो मौलिक कथालाई अन्तर्राष्ट्रिय महोत्सवमा प्राप्त प्रतिक्रियाले उत्साहित छौं’, निर्देशक सापकोटाले भने।
चलचित्रमा हल्कारा (हुलाकी) मार्फत् वैदेशिक रोजगारीको सामाजिक आयामको कथा प्रस्तुत गरिएको छ। चलचित्रमा महेश त्रिपाठी, विनिता थापामगर, दीपक क्षेत्री लगायतले अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।