काठमाडाैं- सिंगापुरले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा घरेलु टोली नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको हो।
सिंगापुरका युवा ओपनर रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए। डेब्यू खेल खेलेका आर्यवीर चौधरीले २६ बलमा ५ चौकासहित ३७ रन बनाए।
तीव्र गतिका बलर करण केसीले दोस्रो बलमै सिंगापुरका कप्तान अरित्र दत्तलाई शून्यमा बोल्ड आउट गरेका थिए। त्यसपछि दोस्रो विकेटका लागि रोहन रंगराजन र सुरेन्द्रन चन्द्रमोहनले ५२ रनको साझेदारी गरेका थिए।
स्पिनर सन्दीप लामिछानेले सातौं ओभरको पाँचौं बलमा चन्द्रमोहनलाई ६ रनमा बोल्ड आउट गरे। सन्दीपले आउट गर्नुअघि सिंगापुर ६.४ ओभरमा ५२–१ को अवस्थामा थियो।
उत्कृष्ट प्रदर्शन गरेका रंगराजन सन्दीप जोराको उत्कृष्ट क्याच आउट भए। गुलशन झाको आठौं ओभरको पहिलो बलमा मिडअफमा सन्दीप जोराले एक हातले उत्कृष्ट क्याच लिदै उनलाई पेभेलिएन फर्काए।
गुलशन झाले आमर्थ्य कौललाई शून्यमा कट एण्ड बोल्ड यसै ओभरमा गरेपछि नेपाल खेलमा फर्किएको थियो। राम्रो सुरुवात गरेको सिंगापुरले दुई रन जोड्न तीन विकेट गुमाएपछि ५२–१ को अवस्थाबाट ५४–४ को अवस्थामा पुगेको थियो ।
११ औं ओभरको दोस्रो बलमा सन्दीपले सिंगापुरका अलराउन्डर जनक प्रकाशलाई ७ रनमा एलबीडब्लू आउट गरे । एक समय १०.२ ओभरमा ७०–५ को अवस्थामा पुगेको सिंगापुरलाई विकेटकिपर मनप्रीत सिंह र अर्यावीर चौधरीले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।