काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी–२० विश्वकपमा क्वालियफायर हुनु नै आफूहरुको एकमात्र लक्ष्य रहेको बताएका छन्।
आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमना उनले यस्तो बताएका हुन्। उनले पछिल्ला ६ महिना यता ब्याटिङ राम्रो भएको उल्लेख गरे।
पहिलाको कुरालाई बिर्सिएर मुख्य लक्ष्य अब आउने खेलमा लगाएको उनको भनाइ छ। उनले क्वालियफायर घरेलु मैदानमा भएको र आफूहरुले ठूलो अवसरको रुपमा लिएको उल्लेख गरे।
कुनै पनि टिमलाई सहज रुपमा नलिएको र क्वालिफाइ हुने आफूहरुको लक्ष्य रहेको बताए। सबै खेलाडीहरुले आफूहरुको अनुभव प्रदर्शन गरेर विश्वकपमा छनोट हुनुपर्ने उनले बताए।
त्यस्तै प्रशिक्षक मोन्टी देसाईले कुनै पनि टिमले विपक्षी टिमलाई कमजोर आँक्न नहुने बताए। उनले नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।
एकपटकमा एउटा खेलको रणनीतिका साथ अघि बढ्ने उनको भनाइ छ। उनले आफ्ना लागि सबै खेल महत्वपूर्ण रहेको दाबी गरे। कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुने विश्वकप छनोट यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ।
नेपाल रहेको समूह ए मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन्। छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टीयु मैदानमा खेल्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।