काठमाडौं– सोमबारदेखि नेपालमा सुरु हुने आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोट फाइनल खेल्न ओमानले टोली घोषणा गरेको छ।
ओमानले दुई नयाँ भारतीय मूलका खेलाडी थप्दै आाफ्नो टोली घोषणा गरेको हो। ओमानको टोलीमा दुई भारतीय मूलका सिद्धार्थ प्रसाद बुक्कापट्टनम र प्रतीक आथवलेलाई टोलीमा समेटेको छ।
उनले २०१६ मा आन्द्र प्रदेशबाट गोवाविरुद्ध रणजी ट्रफी खेलेका थिए। २६ वर्षीय प्रतीक विकेटकिपर ब्याटर हुन्। उनको जन्म महाराष्ट्रमा भएको हो।
ओमानले टोलीमा अन्य भने पुरानै खेलाडी समेटेको छ। अनुभवी अलराउन्डर जिशान अली टोलीमा छन्। ओमानको टोलीमा पाकिस्तानका खेलाडीको बाहुल्यता बढी छ।
भारतीय र पाकिस्तानी मूलका खेलाडी मिलेर ओमानको टोली निर्माण हुँदै आएको छ।
समूह ‘ए’ मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन्। समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत र बहराइन छन्। हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।
सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन्।
ओमानले सोमबार दिउँसो १:३० मा टियु मैदानमा मलेसियासँग खेल्नेछ।
मंगलबार ओमानले सिंगापुरविरुद्ध बिहान ९ बजे टीयुमा खेल्नेछ। बिहीबार ओमानले घरेलु टोली नेपालसँग बिहान ९ बजे टीयुमा खेल्नेछ। सेमिफाइनल शुक्रबार र फाइनल आइतबार हुनेछ।
ओमानको टोली:
जिशान मकसुद, अकिब इलियास, कश्याप प्रजापति, शोएब खान, आयन खान, मोहम्मद नदिम, मोहम्मद नसिम, बिलाल खान, अहमद फैयज बट, कलिमुल्लाह, सकिल अहमद, मेहरान खान, प्रतिक अथावले, सन्दीप गौड र सिद्धार्थ प्रसाद बुक्कापट्टनम।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।