काठमाडौं- भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत शनिबारको खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डमाथि ५ रनको रोमाञ्चक जित हासिल गरेको छ। ३८९ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डलाई अष्ट्रेलियाले अन्तिम ओभरको अन्तिम बलमा रोक्क सफल भएको हो।
खेल जित्न न्युजिल्याण्डलाई ५०औं ओभरको अन्तिम बलमा ६ रनको आवश्यकता थियो। तर अष्ट्रेलियाका बलर मिचेल स्ट्राकको बलमा न्युजिल्याण्डका ब्याटरले छक्का प्रहार गर्न नसकेपछि खेल अष्ट्रेलियाको पक्षमा गयो।
पहिलो ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरमा २८८ रनको योगफल तयार गरेको थियो। अष्ट्रेलियाका लागि ट्राभिस हेडले ६७ बलको सामना गर्दै सर्वाधिक १०९ रनको योगदान दिए। यस्तै डेभिड वार्नरले ८१ रन बनाए।
लक्ष्य भेटाउन अन्तिम ओभरसँग अष्ट्रेलियालाई चुनौती दिइरहेको न्युजिल्याण्ड अन्तत: पराजित भयो। न्युजिल्याण्डका लागि रचिन रवीन्द्रले ११६ रनको योगदान दिए भने ड्रेल मिचेलले ५४ रन बनाए। न्युजिल्याण्डका डेभिन कन्भे २८ र विल योङ ३२ रन बनाएर आउट भए।
यो जितसँगै अष्ट्रेलिया चौथो स्थानमा कायम रहेको छ भने न्युजिल्याण्ड तेस्रो स्थानमा रहेको छ। ६ खेल खेलेको साउथ अफ्रिका पहिलो स्थानमा छ भने ५ खेल जितेको भारत दोस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।