काठमाडौं– त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजमा अहिले नेपाल र संयुक्त अरब ईमिरेट्स (यूएई) बीचको खेल जारी छ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ। ब्याटिङको निम्तो पाएको यूएईले छैटौं विकेट गुमाएको छ।
नेपाललाई छैटौं सफलता दिलाउने क्रममा अविनाश बोहराले बसिल हमीदलाई आउट गरे। मात्र १९ बल सामना गरेका हमीदले ४५ रन बनाए।
यसअघि अविनाशले नै नेपाललाई पाँचौं सफलता दिलाउने क्रममा वृत्या अरविन्दलाई आउट गरेका थिए। ५१ बलको सामना गरेका अरविन्द ४५ रन बनाएर आउट भएका थिए।
यसअघि चौथो विकेटका रुपमा यूएईका अलिशन सराफु रनआउट भएका थिए।
गुलशन झाले यूएईको तेस्रो विकेट लिएका थिए। गुलशनले यूएईका आसिफ खानलाई आउट गरेका थिए। १७ बलको सामना गरेर १८ रन बनाएका आसिफ गुलशनको बलमा सोमपाल कामीबाट क्याचआउट भएका थिए।
नेपालका सोमपाल कामीले यूएईका दुवै जना ओपनिङ ब्याटरलाई आउट गरेका थिए। यूएईका ओपनिङ ब्याटर तथा कप्तान मुहम्मद वासिम ७ बलमा ८ रन बनाएर पेभेलियन फर्किएका थिए। सोमपालले उनलाई गुलशन झाबाट क्याचआउट गराएका थिए।
यस्तै, अर्का ब्याटर खालिद शाह १२ रन बनाएर आउट भएका थिए। ५ बल मात्रै खेलेका शाहले ३ वटा चौका प्रहार गरेका थिए। उनलाई पनि सोमपालले नै आउट गरेका थिए।
जारी सिरिजअन्तर्गत नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो। दोस्रो तथा तेस्रो खेलमा हङकङलाई पराजित गरेको थियो।
नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ। यूएई २ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ। हङकङ भने लागातार ३ खेलमा हार बेहोरेर अंकविहीनन हुँदै पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।