काठमाडौं- ९० मेगावाट क्षमताको अर्ध जलासययुक्त जलविद्युत आयोजना मर्स्याङ्दी नदी जलविद्युत आयोजनाको विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ।
तनहुँको भानु नगरपालिका र गोरखाको पालुङटार नगरपालिकामा निर्माण हुने मर्स्याङ्दी नदी जलविद्युत आयोजना आगामी ५ वर्ष भित्र निर्माण सम्पन्न हुने प्रवर्द्धक कम्पनी एमए पावर प्रालीले जनाएको छ।
कात्तिक १ गते सम्पन्न पीपीएमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका अध्यक्ष अनुप आचार्यले हस्ताक्षर गरेका छन्।
आयोजनाको विद्युत वर्षा याममा ४ रुपैयाँ ८० पैसा र हिउँद याममा ८ रुपैयाँ ४० पैसामा खरिद बिक्री गर्ने सम्झौता भएको छ।
आयोजनाबाट हिउँदमा १८४ दशमलव ६७ गिगावाट आवर र वर्षा याममा ३७७ दशमलव ९३ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ।
आयोजनाबाट २०८६ वैशाख २२ गते व्यावसायिक रुपमा विद्युत उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष आचार्यले जनाकारी दिए।
आयोजनाको वातावरणीय प्रभाव अध्ययन (ईआईए) अन्तिम चरणमा रहेको र वित्तीय व्यवस्थापनका लागि नेपालीसँगै विदेशी लगानीकर्ताहरुसँग पनि आवश्यक प्रक्रिया अघि बढाइसकिएको कम्पनीका अध्यक्ष आचार्यले बताए।
एमए पावरले निर्माण गरिरहेको २२ मेगावाटको सेती खोला जलविद्युत आयोजनाको निर्माण ६ महिना भित्र सकेर मर्स्याङ्दी नदी जलविद्युत आयोजनाको निर्माणमा हात हाल्ने पनि आचार्यले जनाकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।