काठमाडौं- नेपाल मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपमा साउदी अरेबियालाई ३ सय १ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। नेपाल समूह एमा ३ खेलमा जित हात पार्दै समूहको शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो।
जितको लागि ३ सय ४८ रनको विशाल विजयी लक्ष्य पछ्याएको साउदी अरेबिया १९.१ ओभरमा ४६ रनमा अल आउट भएको थियो। साउदीका लागि बरुण मुदालियरले २५ बलमा सर्वाधिक ११ रन बनाए। उनी बाहेक अन्यले दोहोरो अक बनाउन सकेनन्।
सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३ सय ४८ रन बनाएको थियो।
साउदी अरबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले सानदार प्रदर्शन गर्यो।
नेपालको जितमा अर्जुन कुमालले १ सय ४२ रनको शतकीय इनिङ्स खेलेका थिए। आकाश त्रिपाठीले ८९ रनको योगदान गरे।
ओपनर दिपक बोहराले २९ रन बनाउँदा विशाल बिक्रम केसीले अविजित २४ रन बनाए। दिपकप्रसाद डुम्रे र दिपेश कँडेलले समान १४, मिलन बोहराले ९ रन बनाएका छन्। कप्तान देव खनाल शून्य रनमा पेविलियन फर्किएका थिए।
साउदीका मुहमद अमद राजा र मुहमद अहमदले समान २ तथा अब्दुल्लाह सिराज, जुहिर मुहमद र सजीव मुजिवुर रहमानले समान एक/एक विकेट लिएका छन्।
नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो।
प्रतियोगितामा शीर्ष तीन टिमले यू-१९ एसिया कपमा स्थान बनाउनेछन्। नेपाल प्रतियोगिताको उपाधि जित्ने लक्ष्य सहित मलेसियामा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।