काठमाडौं– भारतमा जारी आईसीसी वान डे विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले चौथो जित निकालेको छ। विश्वकप अन्तर्गत न्यूजिल्याण्डले यो लगाता चौथो जित निकालेको हो।
बुधबार भएको खेलमा न्यूजिल्याण्डले अफगानिस्तानलाई १४९ रनको फराकिलो अन्तरले पराजित गरेको हो। टस जित्दै ब्याटिङ रोजेको न्यूजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउँदै २८८ रन बनाएको थियो।
उक्त लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान ३४ दशमलव ४ ओभरमा अलआउट हुँदै १३९ रनमै समेटियो। अफगानिस्तानका लागि रहमात शाहले सर्वाधिक ३६ रन बनाए भने अजमतुल्लाह ओमाजारीले २७ रन जोडे। यस्तै इकराम अलिखिलले १९ रन जोड्दा इब्राहिम जाडरानले १४ रन बनाए।
आफगानिस्तानलाई सस्तोमा समेट्न मिचेल स्यान्टनर र लोकी फर्गुसनले ३–३ विकेट लिए भने ट्रेन्ट बोल्टले २ तथा म्याट हेनरी र रचिन रवीन्द्रले १ विकेट लिए । न्यूजिल्याण्डका लागि ग्लेन फिलिप्सको ७१ रन बनाएका थिए। ओपनर विल यङले ५४ रन बनाए भने मार्क च्यापम्यानले नटआउट रहँदै २५ रन बनाए।
अफगानिस्तानका लागि नवीन उल हक र ओमाजारीले २–२ विकेट लिए। जीतसँगै चार खेलबाट ८ अंक बटुल्दै न्यूजिल्याण्ड शीर्ष स्थानमा रहेको छ। ४ खेलमा एक मात्र खेल जितेको अफगानिस्तान नवौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।