काठमाडौं– बुधबारदेखि सुरु भएको त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत भएको नेपाल र यूएईबीच भएको पहिलो खेलमा नेपाल विजयी भएको छ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जित्दै यूएईलाई ब्याटिङको निम्तो दिएको नेपाल सात विकेटले विजयी भएको हो।
पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा सात विकेट गुमाउँदै १४० रन बनाएको थियो। १४१ रनको लक्ष्य पछ्याएको नेपालले १८ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। ४० बलको सामना गरेका पौडेलले रनआउट रहँदै ५१ रनको योगदान दिए।
यस्तै दीपेन्द्र सिंह ऐरीले २३ बलको सामना गर्दै नटआउट ३४ रन जोडे। ओपनर आशिफ शेखले २३, कुशल भुर्तेलले १४ तथा कुशल मल्लले ११ रन जोडे।
यूएईका अली नासिरले १ तथा निलाश केश्वानीले १ विकेट लिए। कुशल मल्ललाई पनि नासिरले नै रनआउट गरेका थिए।
पहिला ब्याटिङ गरेको यूएईका लागि सर्वाधिक बसिल हमिदले ५१ रन जोड्दा अली नासिरले ३२ र कप्तान महम्मद वासिमले १७ रन जोडेका थिए भने आशिफ खान १५ रन जोडे। यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ नेपालका लागि करण केसीले ३, गुल्शन झाले २, अभिनास बोहोरा र सोमपाल कामीले १/१ विकेट लिए। नेपालको दोस्रो खेल भोलि हङकङसँग हुँदैछ।
नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकप २०२४ को एसिया क्षत्रे छनोटको तयारी स्वरुप नेपाल, यूएई र हङकङबीच त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।