प्रतिकात्मक तस्बिर राजविराज– हुलाकी राजमार्गअन्तर्गत राजविराज–कन्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलाको पुल अधुरै छ। निर्माणको जिम्मा लिएका ठेकेदार सम्पर्कविहीन भएपछि पुल कहिले बन्ने टुङ्गो छैन।
‘लामा बागमती निर्माण सेवा’ले २०७१ सालमा पुल निर्माण सुरु गरेको हो। सदरमुकाम राजविराज जोड्ने सो पुल निर्माण समयमा सम्पन्न नभएका कारण आवतजावत जोखिमपूर्ण बनेको छ। निर्माण कम्पनीले हालसम्म २ करोड १३ लाख रुपैयाँ भुक्तानी पाइसकेको छ।
पुल निर्माण सम्पन्न गर्न बाँकी रहेको काम ठेकेदारले अलपत्र छाड्दा आवतजावत गर्न सर्वसाधारणलाई समस्या भएको छ। निर्माण कम्पनीको ढिलाइ र आयोजना कार्यान्वयन एकाइको बेवास्ताले गर्दा उक्त पुलको समयमै निर्माण सम्पन्न हुन नसकेको हो।
उक्त पुलको हालसम्म ८१.२३ प्रतिशत काम सम्पन्न भएको छ। वर्षाको समयमा अत्यधिक बाढी आउने उक्त खोलामा समयमा पुल निर्माण सम्पन्न नभएका कारण स्थानीयले हरेक वर्ष जोखिम मोलेर यात्रा गर्नु परिरहेको तिरहुत गाउँपालिका–२ का विजय यादवले बताए। ‘समान्य वर्षा भए पनि कालिया खोलाबाट चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडी पूर्णरुपमा बन्द हुने गरेको छ,’ यादवले भने।
राजविराजबाट जिल्लाको पूर्व जोड्ने तिरहुत गाउँपालिका, कन्चरुप नगरपालिका, सप्तकोशी नगरपालिका र उदयपुर जिल्लासम्मका छोटो दूरी प्रयोग गर्ने उक्त बाटोमा पुल निर्माण अवरोधका कारण समस्या भएको छ। पुल निर्माणमा ढिलाइ गरेपछि हुलाकी सडक निर्माणको जिम्मा लिएको बज्रगुरु निर्माण सेवाले ठेक्का लिएको करिब दुई किलोमिटर सडक कालोपत्रको काम पनि हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।