काठमाडौं– नेपाल क्रिकेट संघ (क्यानले) कात्तिक १ गतेदेखि नेपालमा आयोजना हुने त्रिकोणात्मक टी–२० सिरिजका लागि नेपाली टोली घोषणा गरेको छ।
बुधबारदेखि सुरु हुने सिरिजमा नेपाल–हङकङ र यूएईबीच खेल हुनेछन्। विश्वकप छनोटको तयारी स्वरुप आयोजना गरिएको सिरिजका लागि क्यानले सोमबार टोली घोषणा गरेको हो।
१८ सदस्यीय नेपाली टोलीमा ललितनारायण राजवंशी फर्किएका छन् भने सन्दीप लामिछाने छैनन्। सन्दीपले आफैं नखेल्ने घोषणा गरेका कारण टिममा उनलाई समावेश नगरिएको हो।
यसअघि घाइते रहेका राजवंशी सिरिजका लागि फर्किएका हुन्। घाइते भएकै कारण उनले १९औं एसियाली खेलकुद अन्तर्गत चीन भएको खेल गुमाएका थिए।
रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख छन्।
गुल्सन झा, विवेक यादब र अविनाश बोहरा पनि टोलीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।