काठमाडौं– आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले पहिलो जित निकालेको छ। आइतबार आफ्नो तेस्रो प्रतिस्पर्धामा बलियो टोली इंगल्याण्डलाई ६९ रनले हराउँदै अफगानिस्तानले पहिलो जित दर्ता गरेको हो।
पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४९ दशमलव ५ ओभरमा अलआउट हुँदै २८४ रनको योगफल जोडेको थियो।
२८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको इंगल्याण्ड ४० दशमलव ३ ओभरमा २१५ रन बनाउँदै अलआउट हुन पुग्यो।
अफगानिस्तानको जितका लागि मुजिब उर रहमान र रासिद खानले समान तीन/तीन विकेट लिए। महम्मद नवीले दुई तथा यस्तै फैजलहक फारुकी र अवीन उल हकले एक/एक विकेट लिए।
इंगल्याण्डका लागि ह्यारी ब्रुकले सर्वाधिक ६६ रनको योगदान दिए भने डेविट मलानले ३२, आदील रासिद २०, मार्क उड १८, रीस टोपले १५ रनको योगदान दिए।
अन्य ब्याटरले आशलाग्दो रन जोड्न सकेनन्। इंगल्याण्डको यो दोस्रो हार हो भने अफगानिस्तानको पहिलो जित हो।
विस्फोटक सुरुवात गरेको अफगानिस्तान मिडिल ओभरमा टिक्न नसक्दा तीन सय माथिको स्कोर खडा गर्ने अवसरबाट चुकेको थियो।
पहिलो पावर प्लेमा नै अफगानिस्तानले बिना विकेटको क्षतिमा ७९ रन बनाएको थियो। अफगानिस्तानका लागि सर्वाधिक रहमानुल्लाह गुर्वाजले ८० रन बनाए। उनी रन आउट भएका थिए।
यस्तै इक्राम अलीखिलले ५८ रनको योगदान दिए। इब्राहिम जर्दान र मुजिब उर रहमानले २८/२८ रन जोडे। हसमतुल्लाह साहिदीले १४ रन जोड्दा अमतुल्लाह ओमरजाईले १९ रन जोडे।
यता इंगल्याण्डका लागि आदील रासिदले ३, मार्क उडले २, रीस जेम्स विलियम टोपले, लियाम लिभिङ्स्टोन र जो रुटले समान एक/एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।