काठमाडौं– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनविरुद्ध ७ विकेटको जित निकालेको छ। बहराइनले दिएको ७८ रनको लक्ष्य नेपालले ११.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।
नेपालका लागि अर्जुन कुमाल र कप्तान देव खनालले नटआउट रहँदै समान ३२–३२ रन बनाए। २७ बलको सामना गरेका कप्तान खनालले एउटा छक्का र ४ चौका प्रहार गरे। यस्तै, ३१ बल सामना गरेका कुमालले ५ वटा चौका प्रहार गरे।
नेपालका ओपनिङ ब्याटर दीपक बोहरा ४ रन बनाएर आउट भए। दीपक प्रसाद डुम्रेले १ रन मात्रै बनाए भने उत्तम रंगु थापामगर शून्यमा आउट भए।
नेपालविरुद्ध बहराइनका अनास ओबेद सैयद एक्लैले ३ विकेट लिए।
मलेसियाको बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बहराइनले ३३.५ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको थियो।
बहराइनका लागि मोहमद बसिल अब्दुल हकिमले ३४ रन बनाए। ७७ बलको सामना गरेका उनले २ वटा छक्का र २ वटा चौका प्रहार गरे। बहराइनका अन्य ब्याटरले भने दोहोरो अंक पनि जोड्न सकेनन्। बहराइनका ५ खेलाडी शून्य रनमा आउट भएका थिए।
बहराइनलाई सस्तैमा समेट्न नेपालका दिपेश कँडेलले ६ विकेट लिए। यस्तै, दुर्गेश गुप्ताले ४ विकेट लिए।
नेपालले पहिलो खेलमा इरानमाथि २७४ रनको सानदार जित हात पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।