प्रतिकात्मक तस्बिर झापा– कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ। शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सौय ऊर्जा काम करिब ९० प्रतिशत पूरा भइसकेको छ।
४ वर्षअघि रु ७९ करोड ८० लाखको लगानीमा निर्माण सुरु भएको परियोजनामा हाल निर्माण गरिएका टेबुलमा प्यानल राख्ने काम धमाधम भइरहेको झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराईले बताए। उनका अनुसार पहिलो चरणमा १० कन्टेनर सोलार प्यालन जडान हुनेछ।
झिलभिले चोकबाट करिब ७ किलोमित्तर उत्तरमा २२ बिघा जमिनमा २२ हजार ६०० सोलार प्यानल जडान गरिने उनले जानकारी दिए। परियोजनामा पिलर र राफ्टर लगाउने कार्य डेढ महिनाअघि नै सकिएको छ। जसमा ३५ कन्टेनर सोलार प्लानल जडान हुनेछ।
‘यो नेपालकै ठूलो परियोजना हो, अब २ महिनाभित्रमा सञ्चालन गर्ने तयारी छ,’ निर्देशक भट्टराईले भने, ‘अब धमाधम प्यानल जडान गर्ने काम मात्र हो। चाँडै सक्छौँ।’ सो परियोजना निर्माणका लागि माछापुच्छ्रे बैंकले ३५ करोड रुपैयाँ र सिभिल बैंकले २५ करोड रुपैयाँ गरी ६० करोड रुपैयाँ बैंकिङ कर्जा लिइएको उक्त परियोजनामा २० करोड शेयरदाताबाट लगानी गरिएको उनको भनाइ छ। उनले जलविद्युत् परियोजनाभन्दा ५० प्रतिशत कम लगानीमा सुरक्षित र भदपर्दो सेवा सौर्य विद्युत् परियोजनाबाट दिन सकिने बताए।
विर्तामोड नगरपालिकाकी प्रमुख तथा परियोजनाकी सञ्चालक सदस्य पवित्रा महतारा प्रसाईले उत्पादित ऊर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचना १ वर्षअघि नै तयारी भइसकेको बताइन्। परियोजनालाई सोलार टुरिजमको रुपमा विकास गर्ने लक्ष्य रहेको उनले जानकारी दिइन्।
ऊर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि कृषि र ऊर्जा पर्यटनसँग सम्बन्धित थप योजना अगाडि बढाइरहेको उनले बताइन्। सोलार टुरिजमसँगै नजिकै एग्रो टुरिजमको अवधारणा बनाइएको उनको भनाइ छ। झापा क्षेत्र नम्बर ४ का संघीय सांसद लालबहादुर सावा अध्यक्ष रहेको झापा इनर्जीले जिल्लामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना देखेर परियोजना सुरु गरेको उनको भनाइ छ। उनले नेपाल विद्युत् प्राधिकरणलाई यहाँ उत्पादित विद्युत् प्रतियुनिट ७.३० रुपैयाँका दरले विक्री गर्ने गरी सम्झौता भइसकेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।