काठमाडौं– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ।
३५४ रनको फराकिलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको इरान ३०.५ ओभरमा मात्र ७९ रन बनाएर अलआउट भयो। इरानका लागि अमिर खोर्साँदले सर्वाधिक ३७ रन बनाए। यस्तै, साबेर इब्राहिमपुरले ११ रन बनाए।
इरानका अन्य ब्याटरले भने दोहोरो अंक पनि जोड्न सकेनन्।
इरानलाई सस्तैमा समेट्ने क्रममा नेपालका सुवाश भण्डारी र दिपेश कँडेलले ३–३ विकेट लिए। यस्तै, आकाश चन्द र हेमन्त धामीले २–२ विकेट लिए।
मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा १० विकेट गुमाएर ३५३ रन बनाएको थियो।
नेपालका लागि कप्तान देव खनालले सर्वाधिक १०० रन बनाए। कप्तान खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित १०० रनको शतकीय पारी खेले। उनसँग दीपक बोहराले राम्रो पार्टनरसिप गरे। बोहराले ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रन बनाए। पाँचौं ओभरको सुरुवातसम्म जम्मा १० रन जोडेर २ विकेट गुमाएको नेपालका लागि देव र दीपकले १ सय ६६ रनको साझेदारी गरेका हुन्।
नेपालका ओपनर अर्जुन कुमाल गोल्डेन डक र आकाश त्रिपाठी ३ रनमै आउट भएका थिए। विकेटकिपर दीपकप्रसाद डुम्रेले ४४ बलमा ८ चौका र २ छक्कासहित ६९ रन बनाए। इरानका दद्रहमान राइसीले ९ ओभरमा ६७ रन खर्चेर ३ विकेट, सलमान निज्मान्दले ८ ओभरमा ६२ रन खर्चेर ३ विकेट, समान शेखी र जियाद राइसीले समान दुई विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।